
स्यान्डहर्स्ट, बेलायत । स्यान्डहर्स्ट नेपाली कम्युनिटी (SNC UK) द्वारा आयोजित Annual Summer Get-Together 2026 शनिबार, २६ सेप्टेम्बर २०२६ मा नेपाली कला, संस्कृति, आपसी सद्भाव, पारिवारिक भेटघाट तथा मनोरञ्जनका साथ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम स्यान्डहर्स्ट नेपाली कम्युनिटीका अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्यान्डहर्स्ट तथा आसपासका क्षेत्रबाट नेपाली समुदायका सदस्य, परिवार, ज्येष्ठ नागरिक, कलाकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा समुदायका ज्येष्ठ नागरिक श्री सनमान राईलाई सम्मान गरिएको थियो। नेपाली समुदायमा अग्रज तथा ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने परम्परालाई निरन्तरता दिँदै उहाँको योगदान, अनुभव र सामुदायिक भूमिकाको उच्च कदर गरिएको थियो।

कार्यक्रमको सञ्चालन सचिव श्री बिबेक मेचेले गर्नुभएको थियो भने महिला संयोजक श्रीमती सारदा राईले महिला सहभागिता तथा कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपालबाट आएका कलाकारहरू लक्ष्मण लिम्बु, सरिस्मा मगर र शिवदास गुरुङले बेजोड तथा ऊर्जाशील प्रस्तुति दिएका थिए। उहाँहरूको गीत, संगीत तथा नृत्य प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्दै सम्पूर्ण वातावरणलाई उत्सवमय बनाएको थियो। कलाकारहरूको कला, प्रतिभा र नेपाली गीत–संगीत तथा संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च कदर गर्दै स्यान्डहर्स्ट नेपाली कम्युनिटीको तर्फबाट उहाँहरूलाई सम्मान पत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो।

यससँगै तारा लोक्साम लगायतका कलाकारहरूको प्रस्तुतिले पनि कार्यक्रमको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्षलाई अझ आकर्षक बनाएको थियो।
कार्यक्रमको अर्को आकर्षणका रूपमा रहेको Raffle Draw को व्यवस्थापन जुबिना खजुम र रीतादेवी राईले गर्नुभएको थियो। विभिन्न आकर्षक पुरस्कारसहित सञ्चालन गरिएको Raffle Draw ले सहभागीहरूमा थप उत्साह र मनोरञ्जन थपेको थियो।

कार्यक्रमस्थलको आकर्षक Decoration तथा सजावटको जिम्मेवारी उपाध्यक्ष श्री सूर्य गुरुङले सम्हाल्नुभएको थियो भने खाना व्यवस्थापनमा उपाध्यक्ष श्री तिल काम्छा र श्री कृष्ण रानाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सहभागीहरूका लागि BBQ सहित नेपाली तथा Continental Dinner र Dessert को समेत व्यवस्था गरिएको थियो।

नेपाली तथा बेलायती झण्डा, सामुदायिक ब्यानर र नेपाली पहिचान झल्किने सजावटले कार्यक्रमस्थललाई थप विशेष बनाएको थियो। गीत–संगीत, नृत्य, स्वादिष्ट भोजन र पारिवारिक भेटघाटसँगै कार्यक्रमले बेलायतमा बसोवास गर्ने नेपाली समुदायबीचको एकता, मित्रता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने सन्देश दिएको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बूले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण कार्यसमिति, पदाधिकारी, स्वयंसेवक, कलाकार, प्रायोजक, खाना तथा सजावट व्यवस्थापन टोली, Raffle Draw टोली तथा कार्यक्रममा उपस्थित सम्पूर्ण परिवार र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

उहाँले समुदायको उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु मात्र नभई आपसी सम्मान, जिम्मेवारी, अधिकार, सहकार्य तथा भावनात्मक एकतालाई थप मजबुत बनाउनु रहेको उल्लेख गर्नुभयो।




“एकै नेपाली, एउटै भावना—निरन्तर हाम्रो चाहना।”
🇳🇵 🤝 🇬🇧
Respect, Responsibility & Rights



