स्यान्डहर्स्ट नेपाली कम्युनिटीद्वारा नेपाली नयाँ वर्ष २०८२ भव्य रूपमा सम्पन्न ।
स्याण्डहस्ट, वर्कसायर, इङ्ग्ल्यान्ड (यूके), १२ अप्रिल २०२५ — स्यान्डहर्स्ट नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको कार्यक्रम सभ्य र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि स्यान्डहर्स्ट टाउन काउन्सिलका Mayor of Sandhurst, Councillor Parm Panesar तथा Mrs Panesar रहनु भएको थियो। विशेष अतिथिका रूपमा Sandhurst School का Head Teacher Mr. Gareth Croxon तथा गैर–आवासीय नेपाली संघ (NRNA) यूकेका अध्यक्ष श्री प्रेम घाहा मगरको उपस्थिति रहेको थियो।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा गुरुङ, मगर, राई, लिम्बु र तामाङ समुदायका मौलिक नृत्यहरू प्रस्तुत गरिएको थियो। त्यसपछि नेपाली सांगीतिक नृत्य, गायन तथा नयाँ पुस्ताद्वारा अंग्रेजी संगीतमा प्रस्तुत गरिएका गीतहरूले कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपालका उत्कृष्ट कलाकार तथा स्यान्डहर्स्ट नेपाली कम्युनिटीका सक्रिय सदस्य श्री तारा लक्सामको प्रस्तुति रह्यो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण र स्मरणीय बनाएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्षले स्यान्डहर्स्ट नेपाली कम्युनिटीको वर्तमान गतिविधि तथा भावी योजनाहरू बारे सदस्यहरूलाई जानकारी गराउनुभएको थियो। साथै, नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण सदस्यहरूलाई सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको थियो।

औपचारिक कार्यक्रममा स्यान्डहर्स्ट नेपाली कम्युनिटीको पाँचौँ कार्यसमितिलाई संस्थाको तर्फबाट सफल कार्यकालको कदरस्वरूप सम्मानपत्र प्रदान गरी हार्दिक बधाई तथा सम्मान व्यक्त गरिएको थियो। उक्त सम्मान संस्थाका अध्यक्ष श्री जुरेन्द्र खजुम ज्यूको बाहुलीबाट प्रदान गरिएको हो।

कार्यक्रम स्यान्डहर्स्ट नेपाली कम्युनिटीका अध्यक्ष श्री जुरेन्द्र खजुम ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री आदर्श थापा ज्यूले गर्नुभएको थियो।








