स्यान्डहर्स्ट नेपाली समुदायको जेष्ठ नागरिक समूहमा जिम्मेवारी हस्तान्तरण सम्पन्न ।
स्यान्डहर्स्ट, यूके — २६ डिसेम्बर २०२५
स्यान्डहर्स्ट नेपाली समुदाय यूकेको जेष्ठ नागरिक समूहमा जिम्मेवारी हस्तान्तरण तथा ग्रहण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

यस अवसरमा समुदायप्रति निरन्तर साथ, नेतृत्व र समर्पण प्रदान गर्नु भएका श्री ओम थापा ज्यूप्रति स्यान्डहर्स्ट नेपाली समुदायले हार्दिक धन्यवाद व्यक्त गरेको छ। उहाँको योगदान र मार्गदर्शन जेष्ठ नागरिक समूह तथा सम्पूर्ण समुदायका लागि प्रेरणादायी र अत्यन्तै महत्वपूर्ण रहँदै आएको संस्थाले जनाएको छ।
श्री ओम थापा ज्यू एन्डोभर स्थानान्तरण हुनुभएको सन्दर्भमा, उहाँसँग भविष्यमा पनि निरन्तर सम्पर्क र सहकार्य कायम रहने विश्वास व्यक्त गर्दै, उहाँ तथा उहाँको परिवारलाई सुस्वास्थ्य, सुखद जीवन र नयाँ स्थानमा सफल बसोबासको हार्दिक कामना गरिएको छ।

यसै क्रममा अबदेखि श्री सनमान राई ज्यूले जेष्ठ नागरिक समूहको जिम्मेवारी सम्हाल्नु हुने जानकारी गराइएको छ। उमेरले जेष्ठ भए तापनि ऊर्जाशील, सकारात्मक र आत्मप्रेरित व्यक्तित्वका रूपमा परिचित उहाँको नेतृत्वमा जेष्ठ नागरिक समूह अझ सशक्त र सक्रिय बन्ने अपेक्षा गरिएको छ।
समुदायका सबै सदस्यहरू आपसी सहयोग, सद्भाव र सहकार्यको भावनासहित समुदायको हितका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नयाँ कार्यकाल सफल, प्रभावकारी र स्मरणीय रहोस् भन्ने शुभकामना पनि व्यक्त गरिएको छ।
उक्त जानकारी स्यान्डहर्स्ट नेपाली समुदाय यूकेका अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बू ज्यूद्वारा सार्वजनिक गरिएको हो।



